“तिली”लाई अन्तिम इमेल

शिवहरि ज्ञवाली

वि.सं. २०७०, भ्यालेन्टाइन डे, काठमाडौं
“सर, तपाइँको गेष्ट ।” रिसेप्सनको फोन थियो । ‘पठाइदिनुस् ।’ मैले भने ।Tili

ढोका खुल्यो । बैैंशैमा बुढ्यौलीले छोपिएजस्ति देखिने एक युवती भित्र छिरिन् । “ओए ! शिव मलाई चिन्यौ ?” भित्र पस्दा नपस्दै मेरो बाँया हात च्याप्प समातिन् । म अकमकिएँ । म “‘तिली’” चिनेनौ ? अब किन चिन्थ्यौ ? उनले सिधै मेरो आँखामा हेरेर भनिन् ।

मेरी बाल शखा “‘तिली’” मस्तिष्कको भित्तामा लिपिएकी छ । आफूलाई सम्हाल्न सकिन । उसकोे कम्मरमा दुईहातले च्याप्प समातेर जुरुक्क एठाएँ । सानोमा गाइचराउन जाँदा यस्तै गरेर एक अर्कालाई बोक्थ्यौं । उसकोे त्यो कालजयी अनुहार आज हिउँ पग्लेपछिको हिमालजस्तो देखिन्थ्यो । कपाल जर्खरिएको छ । ओंठको हाँसो कतै दबिएको छ । पुक्क गालामा दुईटा डिम्पल सपाट छन् । चिउँडोको कालो कोठी बढेर ठूलो भएको छ । सानोमा भन्थि “बाहुन तँ र म यहीँ कोठीमा बस्ने ।”

“तिम्लाई भेटेर मन हलुंगो भयो । कति चाँडै विर्षियौ ? धारापानीमा बाख्रा चराएको । छर्छरेमा नुहाएको ?” ‘तिली’ले गुनासो गरी ।

“छैन ‘तिली’ कसरी भुल्न सक्छु र ? टाढा भैयो भेटघाट भएन । सम्झेको नसम्झेको त मनलाई सोधन ?” मैले जवाफ फर्काएँ ।

उफ ! ‘तिली’ले खुइइय सुस्केरा हाल्दै भनी “म सम्झिन पनि लायक छैन शिव ।” उस्का आँखाबाट आँशु खसिरहेका थिए । मैलो चुन्नीले आँसु लुकाउन खोजी । तर, बगेको आँशु कहाँ लुक्छर ?

आज ठ्याक्कै १३ वर्ष पछि भेट्दैछु उस्लाई । मैलो कुर्तासुरवालमा टिठलाग्दी छ । ऊ मनभरि पीडाको सागर बोकेर हिँडेकी थिई । मलाई थाहा पाउन गाह्रो भएन उस्को मन कति पिलिएको छ ।

###########.

२०५५ साल मंसिरको दोस्रो शनिवार, खान्टुंग ।
पुरानो जाँगे र दाइको टि—सर्ट लाएँ । एकहुल बाख्रा लिएर झरें, घर तलको धारापानी वन । आज एक्लै छु । शिशिर दाई मावल गए । सिता दिदी बेंसी गएकी छिन् । मेरा सधैका गोठाले साथी हुन् उनीहरु । बाख्रालाई ऐसेलुको गाँजमा डोहोरिदिएँ । अलिपर चिप्लेटि ढुंगामाथि बसेर घँघारुको लौरो मुठार्दै छु । पारी जामुनडाँडाँमा कसैले गीत गाइरहेको सुनिन्छ । मगर गाउँका एकहुल मगर्नीहरु पानी भर्न गाग्रो बोकेर यतै झर्दैछन् । कस्तो फोहोर बोल्दै छिल्लिएका ? यस्तो बोल्निहो भनि त हाम्लाई मार्नुन्च घराँ । दुईटी मगर्नीहरु कुरा गर्दैछन् ।

तेस्सिमा ठास्नी बाहुनले मेरो समात्न पो खोच्च ?
तैंले नि तेस्को नाख भाँच्दिन पर्तोकेरे ? तेल्लाई मर्न नसक्यो मुर्डार ।
हेर्न त्यो भट्टाइका वान कस्टो रन्डो लाग्च मलाई । मुर्डारहर्लाई डेख्नै नहुनी । राडीयाँवानहर्लाई मुत््नी गरी भकुर्न पर्नि ।
पर्नियो केरे सक्निभा‘त । काममा बोलाएर नि समाट्न खोज्छन् असट्टी । ओए माइली तँ तालेघर खुमेसिट सुतिस् अरेहै ।
कल्ले भनो तँलाई मुर्डारनी । त्यै भट्टाइका वानले ? आफ्ना छोरी सुतेको डेख्दैनन् । हाम्रो विजेट् अर्नि मुजीहर्ले ।
गाम्मा बाइँबाइँ छ । तेसै मसित नेपरनेपर अर्छे, जाँठी ।
जे भन्यो भनुन् । म त न्वागियाँ तेसैसित पोइल जान्यो । लाहुरा‘ट आच । लाउरे भनेसी जेठ बा, माइल्वा, कान्छा वा नि मख्ख । हाम्रा बा भन्नै परेन ।
मर । म मरेनि लाउरेसित व्या अर्दिन । बरु खलासीसित जान्छु । राम्ररी पढ्न मन छ । पढेसी जाँठा लाउरे एत्रो नि हेरिन्न ।

म चाख मानेर उनीहरुको कुरा सुन्दै थिएँ । “ढ्याप्प” कसैले मेरो आँखा दुबै हत्केलाले ढोपिदियो । मेरो हातको हँसिया भुइँमा खस्यो । एउटा हातले हात हटाउन खोजें । अर्कोले उसको शरीरमा हात पु¥याएँ । घुँडाघुँडासम्मको मिड्डिी थियो । सोचें कुनै केटी हुनुपर्छ । “झुपी” चिच्याएँ अहँ हात हटेन ।
“ओए ! छोड्दे मेरो आँखो पाक्यो च के ? तँलाई नि सर्ला । त्याँट मर्लिस् जाँठी कौनि होस् बोल् ?” मैले थर्काएँ ।

“छोरदिन्छु त केरे जाँठो काठा । मरिन्च ठोकिन्छ । मरेसि खान आएस् घिउ र भाट” ‘तिली’ बोली । मेरा आँखा मुक्त भए । एकछिन ढ्याम्मै अँधेरो ।

“‘तिली’” डाँडागाउँ साइँल्दाइकी छोरी । सँगै सात कक्षाँ पढ्छम् । बुढी भई स्यान झार्न छोड्दिन । मान्छे मलाईमात्र राम्री ला होकि के हो ? स्कुल गइन भने मलाई’नि स्कुल जान मन लाउन्न । गए’नि हातछुट्टी नहुँदै भाग्न मन लाउँच । जाँदा’नि ठुल्ढंगा’ट सँगै जान्चम् । आफ्ना बा हिसारा’ट आम्दा मलाई बाको पागुर ल्याम्दिन्चे । तो तिलहालेको मिठाइ । कम्ता मिठो हुन्च ।

अँ ! काँ अन्मरिइस एस्तेर ? पोक्ची ! मैले सोधें । दुइटै हातले मेरो घाँटीमा समाती । चिउँडो मेरो कुममा अड्याएर ‘तिली’ले भनी “तेराँ जान ला‘को । मुई लेन”

भन्ते नि ‘तिली’को नाकबाट स्यान मेरो कुममा झ¥यो । “स्यान सार्न सक्दिनस् फोहोर्नी ? हैजाले ला नि तँलाइ ।” मैले गाली गरें ।

“तेरो नि त आम्चकेरे स्यान, इस्..खेसिस् लाउँचस् ? । नकरा बाउन ! उल्टै तँलाई लाइदिन्चु अ‍ैले । आइज लडम् ।” ‘तिली’ले भनी ।

“लाउचेस् । केरा हेरेजैं हेर्चु म नि । खुरुक्क पोछ । मैले अह्राएँ । ‘तिली’ पछाडी फर्की र सिँइइ गरेर स्यान फालि । धँएराको पातमा पोछि र नजिकै आएर भनी “ओए ! अस्याट लाच के तेरो बाउन ! छेउँमा बस्न दिन्चस् ?

“बस् न काखाँ बस्निभा नि बस् । धान्न सक्चुकेरे ? स्यान फालेसि त तेरो नाके बोलिनी राम्रो सुन्यो । तँ आटो खार हिँडीस् कि तेसै ?” मैले नजिकै बस्न भन्दै सोधें ।

साइँल्याँले हिँजै भन्नछ आम्न भनेर । गएर फर्सिको तिउन, लोप्रा लाको आटो र दूध स्याम्म खाइन्च बुजिस् । ‘तिली’ले भनी ।

“म त खार आकुम् । बाख्रालेर गएर अर्नि खाम्ला भनेको तैंले खाइदिनी भइस् । मर जे जे मर्नेहो ।” मैले पिरमान्दै भने ।

“मर्चुके जा पानी ख्याउन आएस् । तेरो हातले पानी खाम्न पाए स्वर्ग गइन्त्यो कि ?” ‘तिली’ले मेरो कान तानिदिई । मैले ‘तिली’को साप्रामा चिमोटिदिएँ ।

“एैया मारो मुर्दारले । केलाइ चिमट्चस् ?” ‘तिली’ले भनी ।

“हेर बाहुन अब म तँसित एत्रो नि बोल्दिन । सुपाले टाँस्नी सँगै हिँडेत । मैलेमात्रै हो के तँलाई सम्झिनी, तेरो मनमा म भएपो ? खाँचैसिति जबरजस्ति भानि भुल्चु अब । दुईतिनदिन त हो केरे खटाउन पर्नि । त्याँसी तँसित एत्रो नि बोल्दिन । पापी कोव्वे बाउन ।”

लौं ! ‘तिली’ एक्कसी रोन पो थाली । ओए ! के भओ भन्चु नरो त पिन्चे । उसको हात समातें । भन् न के भओ ? आज नि बा आमा लडे र ?

“है न । बाले अब रक्सी नखानी भनेर आमाका अघि एठबस गरेचन् । अचाल हुन्न झगडा । तेरो बानीले रुन परो मलाई तँ पापी छस् । पल्लार कान्छाबाका आउँचस् । हाम्रामा आएचस् कि भनेर हेरिरन्चु आँगनाँ बसेर । तँ हेर्दा नि नहेरी जान्छस् । तँ ढुंगा होस् । मलाई कम्ता मरम् मरम् हुन्च तँ यस्तो अर्दा ।” उ फेरी रुन थाली ।

“कुरी कुरी बाजे मकराले पादे ।” मैले हँसाउन खोजें । “तैले हेरिचस् भन्नी काँट थापाम् त नी मैले ? कान्छाबाकाँ कुख्रा लिन गथें । चाओटा चल्ला लछु । कुखुरा व्याएसि “फुल खान” आएस् ।” मैले उसको कानै नेर पुगेर सोधें, ओए ‘तिली’ तैले कोसित व्या अर्चेस् ?

“भन्दिन जो सित अर्चु अर्चु ? खुप मसित भन्ला भनेहोलास् । इस्.. अर्चु तँसित । तँसित व्या अर्नभन्दा पोइल जान्चु अपुरसित । फेरि तेराँ गएर दुख पाउन छ र मलाई ? बाहुनकाँ जान्यो भने दुख हुन्चरे आमाले भन्तिन् । तिमेरु ठूलो जात हौ रे । हामी सानो जात हुम् रे । तैले भगाउन सक्छस् ? तेरा घर्काले लखेट्लान् फेरी ? हेप्लान् तेरा दाइहर्ले ? काँजान्चस् ? केरी पाल्चस् ? कर्मीकाम अरेर ? इस्…सक्छन् लुते बाउन ?” दुईटा खुट्टाको बीचमा दुइटा हातले देखाएँदै ‘तिली’ले एकै सासमा भनी ।

“हेर तँलाई भगाम्चु । उलिंकाठाँ लिन आउँचु । टेप्रीकोटमा रनननन् बाजातालको गीत बजाउँचु । खशी ढाल्छु । कुख्रा ढाल्चु । पख न बल्ल १३ वर्ष भएँ । अब १२ वर्षमा त म तँलाई व्या अर्चु । हाम्री आमा तँलाई के भन्नुन्च था छ “कान्छी व्वारी भन्नुन्च” बुझिस् । हाम्रा दिदी बहिनी छैनन् । तँलाई आमाले छोरी जस्तै मया अर्नुन्च । त्यासी तेरो नागरितामा पिता पतिको नाममा तैलै मेरो नाम लेख्छिस् बुझिस् ।” मैले विश्वास दिलाएँ ।

“है कस्तो रमाइलो । तैले ठिक्क पारेकोस् कि ? हाम्लाई व्या गर्न देभनी त ? म त तँलाई एकछिन छोड्दिनथें के । दमार घाँसकाट्नजाँदा सँगै, पँधेरामा पानी लेन जाँदा सँगै, न्वागी राम हेर्न जाँदा सँगै, तान्सिन जाँदा सँगै । तोरी मिलमा जाँदा सँगै । आम्मै कत्ति रमाइलो । तँ मुर्दारले बाउनी जो ल्याउनीहोलास् केरे फेरी । छुच्ची बाउनी” उस्ले मेरो नाक समाएर हल्लाई ।

“लेउन्नके मुर्दार्नी, पख न अझै १२ वर्ष छ आएन तेस्तेरसम्म मेरो दारी जुँगा झुप्प आउँच तँलाई त्याँसी दल्दिन्चु । यस्तरी खोइ…”मैले उसको गालामा आफ्नो चिल्लो दिएँडो दलिदिएँ ।

छि ! मुर्दार नकटो । लाज नभको । एसएलसी देसी त झन् तान्सिन जानीहोलास् केरे ? मलाई भुल्चस्के पापी तैले । उस्ले चिन्ता व्यक्त गरी ।

“के कुरा अर्चेस् । म त हेर एसएलसीमा फेल हुम् भनेर पुजा गरेछु । फेल भैयो भनि तँ र म सँगै हुन पाइन्च ।”

“भो पास हो तँ । तँ ठूलो मान्छे भइस् भनि नि मलाई लिन आएस् । म त हेर तँलाई कुर्चु । अन्त नसल्केस् नि । बाहुन !”

“रानी वनमा ऐसेलु पाकेका,े आउँछ मया भनेर राखेको ।” ‘तिली’ गीत गाउँदै मेरो घरतिर मोही लिन गई ।

###########.
१२ वर्षपछि उही “‘तिली’” मूर्तिवत मेरो अगाडि छ । म १२ वर्षपछि विहे गर्छु भनेको थिएँ सानोमा । ऊ सँगका सम्झना एकएक रिलझैं घुमिरहे । एकटक उसका आँखामा हेरिरहेछु ।

“‘तिली’ कसरी आइपुग्यौ ?” मलाई सपनाजस्तो लागिरहेकको छ । ‘तिली’का आँखामा फेरि वर्षा सुरुभयो ।
“नरौ न ! नरोइ भन तिम्रो पिन्चे बानी त अझै एस्तै छ है ?” मैले ‘तिली’लाई हँसाउने प्रयास गर्दै थिएँ । विल्कुल असफल प्रयास । अलितकति डर लागिरहेछ अफिसमा कसैले देख्ने हो कि ?

‘तिली’ मेरो हातलाई दुवै हातले आफ्नो छातिमाथि छोपेर उभिएकी छ । उसको गलाबाट हिक्क हिक्क आइरहेको छ । मैले भनें “प्लिज यो अफिस हो नरोउन ।” ‘तिली’लाई बस्न भन्नेसम्म भन्ने होस् आएनछ । नजिकैको कुर्सी ताने र बल्ल बस्न आग्रह गरें ।

“शिव म तिम्लाई के बताऔं खै? ” ‘तिली’को ओंठ बल्ल खुल्यो । उसले आफ्नो मनको बह पोख्दै गई ।
तिमी एसएलसी पछि तानसेन गयौं । म पास हुन सकिन । घरमा धेरै छोरी भएकाले मलाई बिहे गर्न बा—आमाले दबाब दिए । विहे गर्ने मन नै थिएन । एकदिन ठूली फूपुलाई फोन गरें । फुपुले बुटवल बोलाइन् । उनीहरुको त्यहाँ होटल थियो । म फुपुको घरमा आएँ । साँझ विहान कम्पुटर सिक्ने दिउँसो होटलमा सहयोग गर्न थालें । केही समयपछि आफैले सिकेको इन्टिच्यूटमा कम्यूटर बेसिक कोर्स पढाउन थालें । अलिअलि पैसा पनि कमाएँ घरमा बा आमा पनि मख्ख । फुपु र पुसाइँ पनि मख्ख ।

फुपुहरु सुख्खानगर भाडामा बस्नुहुन्थ्यो । त्यही फ्ल्याटमा गुल्मीको एकजना “रमेश” भन्ने केटो बस्थ्यो । पहिलो पटक देखेपछि नै म उसँग नजिक हुन थालें । मेरो अरु साथी पनि त थिएनन् । अग्लो गोरो र खाइलाग्दो थियो । मलाई निकै माया गरेजस्तो गथ्र्यों । शनिवार कहिलेकाहीँ फुलबारी र लुम्बिनी घुम्न जान्थ्यौं । दिदीहरु नभएको बेला उसको कोठामा पनि जान्थें । कहिलेकाहीँ खाना बनाइदिन्थें । हाम्रोमा बनेको अचार, तरकारी प्रायजसो उसैलाई सुटुक्क दिन्थें । उस्ले कता खै केमा काम गथ्र्यो ? कहिलेकाहीा मलाई गिफ्ट पनि ल्याइदिन्थ्यो । जन्मदिन कहिले हो भन्थ्यो मैले माघ ६ भनेर बताएँ । पहिलो पटक उसँग मैले जन्मदिन मनाएँ र उसैले गिफ्ट ल्याइदिएको केक बाँडे ।

दिनहरु रमाइलै थिए । म उसको सँगतले पुरै चेन्ज भएकी थिएँ । मेरो हेयरस्टाइलमात्र होइन लगाउने कपडा पनि पूरै फरिएका थिए । एकदिन पुपुहरु सुपा देउराली गए । म गइन । रमेश कोठमामै थियो, बोलायो । त्यसदिन उस्ले मलाई जबरजस्ति गरयो । म धेरै रोएँ । तर पहिले घुम्दाखेरीका फोटाहरु देखाएर म तँलाई बेइज्यत गदिन्छु कसैलाई भनिस् भने भनेर धम्कायो । म बाहिर सरेकी छु भन्दा पनि छोडेन । खाखिर उसले जे नगर्नु सबै ग¥यो । बिहे गर्छु भन्दै फकायो । म पनि माने किनकि म उसलाई माया गर्थे ।

त्यो घटनापछि उसले सधै मलाई ब्लाकमेलिङ गर्न थाल्यो । हरेक दिन फुपुहरु सुतेपछि म उसको कोठामा जान्थे । उसको चाहना पुरा गर्दिनुपथ्र्यों । मैले उसलाई एकदिन “अब कि विवाह गर कि म यो सबैक कुरा फुपुहरुलाई भन्छु” भनें । उ विवाह गर्न राजी भयो । कोठा छोड्यो र भैरहवा बर्मेली टोलमा कोठा लिएर बस्न थाल्यो । त्यहीँ नजिकै एउटा स्टेसनरीमा काम गर्छु भन्थ्यो । अब मैले उसलाई नै आफ्नो सर्वश्व ठानेकि थिएँ ।

एकदिन विहीवारको दिन थियो, रमेश भैरहवाबाट आयो । विहे गरेर त्यहीँ दिन भाग्ने योजना थियो । म एकजोर कुर्ता सुरवाल लिएर निस्के । हामी सिद्धवाबा गएर विवाह ग¥यौं । फुपुलाई नभनी सरासर भैरहवा आएँ । केही दिनपछि फोनबाट मैले विवाह गरेको भनेर खबर गरें । फुपु रिसाइन् । “मरेबराबर भयो अब मुख देखाउन नआएस्” भनिन् । मेरो मन अमिलो भयो । मैले रमेशलाई धेरै माया गर्न थालेकी थिएँ, उसको लागि सबै त्याग्न तयार थिएँ ।

यता विवाह भएको एक महिनापछि रमेशको बानी फुरै फेरियो । उसले मलाई तँ “मगर्नी” भनेर हेप्न थाल्यो । मलाई थाहा थियो उ बाहुन थियो । उसको घरमा मलाई स्वीकार्दैनथे । तर म सबै मिलाएँछु अहिलेको जमनामा पनि भन्यो । मैले विश्वास गरें । तर, सधैंजसो जातको कुरा निकालेर घोचपेच गर्न थाल्यो । मलाई असैह्य हुन्थ्यो । तर, विवस थिएँ ।

एकदिन उसले खोइ किन हो जिल्ला प्रसासन कार्यालयमा जाऔं काम छ भन्यो । म सँगै गएँ । खासमा अन्तरजातीय विवाह गरेको प्रोत्साहन रमक लिनलाई रहेछ । उसले एकलाख रुपैयाँ लियो । मैले त्यो पैसा पाउँछु भनेर विहे गरेकी थिइन । त्यो पैसा लिएको साँझ रमेश तरकारी लिनजान्छु भनेर निस्केको त्यसपछि कहाँ गयो आएन । आउला भनेर रातिसम्म कुरें पर्खिएँ तर आएन । तेस्रो दिन मेरो बोबाइलको घन्टी बज्यो । रमेशले फोन गरेको रहेछ । उ इन्डिया गइसकेको रहेछ । उसले मेरो भर नपर जे गर्ने हो गर् भन्यो । मसँग कुनै उपाय थिएन । न त पैसा नै । बुटवलमा कम्युटर सिकाउनेकाम पनि छोडेकी थिएँ । म छाँगाबाट खसेजस्तै भएँ । घोप्टो परेर निकै बेर रोएँ । आफैलाई धिक्कारें । घर बा आमाहरुलाई सम्झें । फुपुहरुको मायालाई सम्झें । तिमीलाई एकदम मिस गरें ।

त्यो महिना वित्यो । घरबेटीले भाडा माग्यो । मसँग पैसा थिएन । कानमा भएका लुर्का र कोठामा भएका सामान सबै बेचिदिएँ । म घर कुन मुखले फर्कने ? फर्किन सकिन । सबैले उल्टै गाली गर्थे । रमेशको घर पनि मलाई थाहा थिइन । फेरी कसरी जाने ? एकदिन रेडियो सुन्दै थिएँ नाटक बजिरहेको थियो । नाटकमा तिम्रो आवाज सुनें, चिनीहालें । त्यसपछि मैले फोन गरेंर तिम्रो नम्बर लिएँ । तिम्रो संस्थाले अन्तरजातीय विवाह गरेका जोडीलाई कानुनी लडाइँलड्न सहयोग गर्छ भन्ने पनि थाहा पाए । अलिअलि भएको पैसा लिएर एकदिन जसरी नि तिम्लाई भेटाउँछु भनेर काठमाडौंको नाइट बस चढें । र फोन गर्दै यहाँसम्म आएँ । शिव म त्यो पापी रमेशलाई कारवाही गर्न चाहन्छु । उसको फोटो मसँगै छ । मलाई बर्बाद बनायो । अरुलाई मलाईजस्तै अन्तरजातीय विवाहको प्रोत्साहन रकम लिनका लागिमात्र विवाह गर्न नपाओस् ।

उफ ! यो सन्सार ? दलित, जनजातिहरुका कामकाजी र कमाउने छोरीहरु भेटे बाहुनहरु अन्तरजातीय विवाह गर्न तम्सिन्छन् । अझ कतिले त प्रेमको नाममा अन्तरजातीय विवाह रकम पाएपछि विभिन्न बहानामा छोड्छन् । के प्रेम भनेको काम, जागिर वा पैसासँग हुने हो ? अस्ति भर्खरको एउटा घटना सम्झें । बाहुनसँग प्रेम विवाह गरेपछि नाक छेडिएकी पुर्वाको कथा । ‘तिली’का कुरा सुनेर म अवाक् भएँ । “हामी प्रयास गर्नेछौं, तिमी नआत्तेउ । भोलि प्रहरीलाई रिपोर्ट गरौं ।” मैले भनें ।

‘तिली’ मनको बह पोखेपछि केही हल्का देखिई । उस्ले हाँस्दै भनी “शिव मैले कुरेको भए तिम्ले मलाई विहे गर्थेउ? कि तिमीले विहे गरिसक्यौ ? कस्तो दुुब्लो भएछौं । विहे गरेको भए त मोटो हुनुपर्ने नि ?”

“खोइ के गर्र्थें थाहा छैन । मैले त विहे गरेको छैन । तिमीले कुरिनौं ? तिम्ले छोडेपछि कसरी मोटाउने ?” मैले पनि हाँस्दै जवाफ दिएँ ।

“प्लिज शिव यो कुरा नगर अरु कुरा गर । लव गरेको छौ होला खोइ देखाउ न मोवाइलमा फोटो कस्ती रहिछन्?” ‘तिली’ लामो हाँसो हाँसी ।

अफिस विदा हुने समय भइसकेको थियो । म अलमल परें । ‘तिली’लाई जाऔं भन्न पनि सकिन । उसले आफै नाइटमा जान्छु भनी ।

“होइन रात पर्न थाल्यो नजाउ । भोली सँगै प्रहरी रिपार्ट गर्न जाऔं । बरु आज मेरो साथीको होटल छ त्यहीँ बस ।” म स्वार्थी बनेँ । ‘तिली’को फोन र ईमेल मागें । र कुपन्डोलमा एकजना साथीको होटलमा पु¥याएर फर्कें । साथीलाई ‘तिली’को विल म मिलाउँला भनेर निस्किएँ ।

###########.
‘तिली’लाई छोडेर कोठामा फर्कें । मलाइ निकै गाह्रो भो । यो विरानो सहरमा उ मभन्दै आएकी छ । म उस्लालाई होटलमा छोडेर फर्किएँ । मैले किन उस्लाई आफ्नो कोठामा ल्याइन ? अरुले के सोच्ला भनेर? चिनेका आफन्ती आएभने के भन्लान् भनेर ? मलाई छटपटि भयो । खाना खान मन लागेन । सुत्ने प्रयास गरें । तर अहँ सकिन । उठेर घडी हेरें । रातको ११ बजेको रहेछ । मनमनै अठोट गरें जान्छु र ल्याएँछु । तर एक्लै जानसक्ने अबस्था थिएन रातिमा । भान्जा सुवासलाई फोन गरें । ट्याक्सी लिएर हामी लाग्यौं कुपन्डोलतिर, सानेपाको उकालो हुँदै ।

होटल खुल्लै थियो । मैले ‘तिली’को कोठामा रिसेप्सनबाट फोन हानें । धेरै बेर नउठेपछि रिसेप्सनिष्टलाई सोधें । उसले ‘तिली’ इमरजेन्सी प¥यो भनेर अर्की एक महिलासित बाहिर निस्केको बतायो । मलाई डरलाग्यो । ‘तिली’को कोठामा गयौं । खुल्लै थियो । बेडमाथि एउटा सानो कागजमा लेखिएको थियो ।

“शिव तिमी फर्केर आउँछौ भन्ने मलाई थाहा थियो । तर, मलाई माफ गर । म तिम्लाई मर्नुभन्दा अघि एकपटक देख्न चाहन्थें । मेरो इच्छा पुरा भयो । प्लिज मेरो बारेमा केही नखोज्नु । म अब यो सन्सारमा कसैको लागि लायक छैन । तिमीलाई बच्चैदेखि माया गर्ने उही अभागी ‘तिली’ ।

मेरो शरीर थरथर काम्यो । रिंगाटा लाग्ला जस्तो भयो । म जोडजोडले ‘तिली’ भनेर चिच्याएँ । तर ‘तिली’ त्यहाँ थिइन । मैलाई आफैदेखि घीर्णा लाग्यो । उसको मोवाइलमा डायल गरें । तर अफ थियो । आखिर कहाँ गइहोली ? हतारहतार प्रहरीमा फोन गरें । सबै नाकामा फोन गरें । केही सिप लागेन । रुममा निरास हुँदै फर्किएँ ।

अर्को दिन दिनभर ‘तिली’को खोजिमा लागें । काठमाडौंका गल्लीगल्ली चहारें । आखिर होटलमा उसँगै निस्कने आइमाइ को थिइ? कि उ जीवनदेखि नै निरास भएर आत्महत्याको बाटो अंगाली ? अहँ ‘तिली’ मर्न सक्दिन । उ कतै टाढा गएको हुनुपर्छ । मनमा यस्तै तर्कना आए । तर अहँ जति खोज्दा पनि ‘तिली’ फेला परिन । राति थकीत हुँदै कोठामा आएँ । मन बुझाउनका लागि ‘तिली’को इमेल ठेगानामा इमेल लेखें ।

प्रिय ‘तिली’,
तिमी जहाँ छौं, म तिम्लाई कुरिरहेछु । प्लिज खबर गर, म लिन आउँछु । तिमी मेरो जनरमा अहिले पनि उत्तिकै पवित्र छौं । खोइ इमेलमा मेरो रोइहेको मन आउँदैन । मलाई तिम्रोसामु बेस्सरी रोएर माफी माग्ने मन छ । ‘तिली’ प्लिज तिमी किन यसरी नभनेरै हरायौ ? हुन त तिमी विश्वास गर्दिनौ होला ‘‘तिली’’ कस्सम म तिमीलाई नै पर्खिरहेछु । तिमी फर्केर आउन मात्र म सबै कुरा भन्छु । प्लिज यो इमेल हेर । एक पटक सम्झ त भाँडाकुटी खेल्दा हामी को थियौ रे ? धेरै लेख्ने मनथियो । तर लाइन गइहाल्यो । प्लिज सम्पर्कमा आउ ।

उही तिम्रो
शिव

Advertisements

कमरेड डिप लभ :D

आज विप्लव कमरेडले एकीकृत क्रान्तिको घोषणा गर्दैछन् भन्ने थाहा पाएपछि मलाई मैले उनीसँग केही वर्ष अघि भएको भेट र उनीप्रति मेरो धारणा सम्झिएँ । माओवादीमा मलाई व्यक्तिगत रुपमा चित्तबुझ्ने नेताहरुमध्ये उनी अग्रस्थामा आउँछन् । त्यसैले पनि उनका बारेमा आएका हरेक समाचारहरु ध्यान दिएर पढ्छु । उनलाई धेरै पटक भेटेको छु कार्यक्रमहरुमा । व्यक्तिगत रुपमा म अंकल भनेर सम्बोधन गर्थें किनकि उनी मेरा अंकलको साथी थिए ।

“म किन मर्थे आमा, म मर्दै मर्दिन
देशको लागि बजेको गितार, जनमुक्ति खातिर लडेको विचार
म ढल्दै ढल्दिन, आमा म मर्दै मर्दिन ।”

कोठभित्र नपुग्दै बाहिरैबाट किबोर्ड र गीतारको धुन सुनिन्थ्यो । संगीतकार भरत लामा र गीतकार छिन्ताङ गोदावरी वन कार्यालयको भुइँतल्लाको एक कोठामा गीत कम्पोज गर्दै थिए । २०६३ सालको फागुन चैतको महिना हुनुपर्छ । म घट्टेकुलोको कोठा छोडेर गोदावरी क्याम्प तिर सेरेको थिएँ । सेनच्यांङ सांस्कृतिक परिवारको अतिथि कलाकारको रुपमा । यो सांस्कृतिक समूह तत्कालीन नेकपा माओवादीको क्षेत्रीय सांस्कृतिक टोली हो । जुन सामना सांस्कृतिक परिवारपछिको दोस्रो शसक्त समूह मानिन्थ्यो । मसँगै गएका थिए हाँस्य कलाकार धिताल चिरिच्याट्ट । हाल उनी कहाँछन् मलाई थाहा छैन ।

म कजेलका किताव र आफ्नो व्यक्तिगत सामानहरुसहित गएको थिएँ । पुग्नासाथ सांस्कृतिक समूहका कमाण्डर छिरिङले अरु साथीहरुसँग मेरो परिचय गराइदिए । कमरेड आरोहसँगै म बस्नुपर्ने भयो । सायद आरोह अहिले पनि गीत गाउँदैछन् । अरु साथीहरु धेरै कता छन् थाहा भएन । गुल्मीकी सरीता र विमला थिए । पार्टीमा उनीहरुको नाम बेग्लै थियो । जनयुद्ध फिल्ममा उनीहरुको नाच हेरेको थिएा । अहिले कता छन् थाहा छैन । त्यहाँ मैले जम्मा तीन महिना विताएँ । परिक्षा आउनेबेला भएपछि कताकता डरलाग्यो । पढाइ सम्झिँए र क्याम्प छोडेर आएँ । पछि क्याम्प एयरपोर्टनेरैको एउटा पुरानो घरमा सरयो । म साथीहरुलाई भेट्न बरोबर गइरहन्थे । पछिल्लोपटक आरोहले आछैन आछैन हाम्रो दिन आछैन, गरिबको झप्रोमा रातो घाम लाछैन, त्यहीा कम्पोज गरेका हुन् । सायद त्यसको पहिलो श्रोता म नै थिएँ ।

गोदावरी बसाइँमा मैले जनवादी सांस्कृतिक आन्दोलनको बारेमा सिक्ने अवसरमात्र पाइन कि अहिलेका एमाओवादी र ड्यास माओवादीका अधिकांश नेताहरुसँग उनीहरुको कासन सुन्ने र नेपाली समाजको सांस्कृतिक पक्षलाई बुझ्ने अवसर पनि पाउँ । त्यो बसाइँ मेरो लागि नौलो थियो । भर्खर युद्ध लडेर आएका साथीहरु थिए । अधिकांश सामान्य लेखपढमात्र गर्न सक्थे । तर उनीहरु विचारमा यति धेरै परिपक्व थिएकि मेरो नाथे कितावी पढाइ हावा खान्थ्यो । कोहीसँग मोवाइल थिएन । मोवाइल प्रयोग गर्न पनि पाउँदैनथ्यौ । तर आवश्यक भएमा हामी विहानै उठ्थ्यौं । रोलकल हुन्थ्यो । त्यसपछि परेड ।

गोदावरीका स्थानीयहरु हाम्रो परेड हेर्न वनकार्यालयको पर्खाल वरपर झुम्मिन्थे । दिनभर नाचगान, नाटक र अभ्यास । करिब ३० जनाको यो परिवार त्यहीँ थियो । मेसमा खाना खान्थ्यौं । विहानै अन्डा, पाउरोटी र जाम । ११ बजेतिर खाना, दिउँसो त्यस्तै फरक फरक खाजा र साँझ ८ बजे खाना । खानापछि फेरी दिनभरीको आफ्नो अनुभव आदानप्रदान, किताव पढ्नुपर्ने र आफूले बुझेको कुरा साथीहरुलाई सेयर गर्ने । रातिमा पालैपालो दुई जनाका दरले सेन्ट्री बस्नुपर्ने । तर, म अलि नयाँ भएकोले र खोइ किन सबै साथीहरुले एकदम माया गर्थे र मेरो साटो सेन्ट्री बस्नलाई हानथाप नै हुन्थ्यो । म एक दुई पटकमात्र बसेको छु त्यो पनि रहरले । शनिवारको दिन हामी मिल्ने साथीहरु भएर गोदावरी र फुलचोकीको वनमा घुम्न निस्किन्थ्यौं । हामी एक अर्कालाई कमरेड भनेर सम्बोधन गथ्र्यौं । त्यहीँ रहँदै हामीले भुटानमा जनयुद्धको तयारी गरिरहेको माओवादीहरुको एउटा समुहसँग सँगै बसेर प्रशिक्षण लिएका थियौं । सायद उनीहरु भुटानमै आन्दोलनको तयारी गर्दै छन् कि पलायन भए थाहा भएन ।

हुन त मेरो परिवार सामान्य भाषामा परम्परादेखि नै कालो काँग्रेस थियो । कम्युनिष्ट भनेपछि एककिसिमको घृणाले मेरो मनमा वास गरेको थियो बच्चैबाट । परिवारमा पनि कोही कम्युनिष्ट छ भने उसलाई हेर्ने दृष्टिकोण नै फरक हुन्थ्यो । एककिसिमको पारिवारिक बहिष्कारजस्तै । यद्यपि, त्यस्तो अहिले पनि छ । हजुरआमा त कम्युनिष्ट हुनु भनेको पाप नै हो भन्नुहुन्थयो । तर, खोइ मलाई कुनै वाद थाहा थिएन, कुनै राजनीतिक सिद्धान्त थाहा थिएन तर पनि माओवादीहरुप्रति यस्तो विश्वास थियो कि परिवर्तन यिनीहरुलेमात्र गर्न सक्छन् जस्तो लाग्थ्यो ।

गाउँमै छँदा पनि धेरैपटक माओवादी छापामारहरु हतियारसहित हाम्रो घरमा बास बस्न आउँथे । उनीहरुले कहिल्यै पनि हाम्रोमा भात पकाउन भनेनन् न त कहिल्यै चन्दा नै मागे । तर, बस्न भने हाम्रोमा आउँथे । म उनीहरुसँगै बस्न रमाउँथे । उनीहरुलाई युद्धको अनुभव सुनाउन भन्थें । र हतियारहरुको नाम सोध्थें । घरमा अरु बोल्न डराउनुहुन्थ्यो । छापामारहरुमध्ये एकजना कोही न कोही हाम्रो परिवारको बारेमा जानेको हुन्थ्यो उसले फलाना फलाना आफन्तहरु कहाँ हुनुहुन्छ के गर्दै हुनुहुन्छ भनेर सोध्थे । तर हामी उनीहरुलाई चिन्दैनथ्यौं । अन्त्यमा जानेबेला केही अफ्ठेरो परे भन्नुस् भनेर जान्थें । मलाई उनीहरुबो बानीव्यवहार मन पथ्र्यों । रेडियोमा माओवादी आतंककारीले हत्या गरे भन्ने खबर सुन्दा मैले कहिल्यै पत्याउँदिनथें । माओवादी आक्रमणमा सेना, प्रहरीको मुत्यु भएको सुन्दा आफैले जितेजस्तो हुन्थ्यो ।

हामी प्रज्ञा भवनमा गर्ने सांस्कृतिक कार्यक्रमको व्यापक तयारी गर्दै थियौं गोदावरीमा । तयारीकै क्रममा दिनदिनै फरक फरक नेता आएर राजनीतिक प्रशिक्षण दिन्थे । एकदिन विप्लव आए । मैले साथीहरुबीच विप्लव कमरेडको नाम विप्लव होइन डिप लभ राख्नुपर्छ भनेर ठट्टा गर्थे । उनको राजनीतिक प्रशिक्षण यस्तो सशक्त हुन्थ्यो कि जुरुक्क उठेर हतियार बोकेर हिँडौं जस्तो । प्रशिक्षणका क्रममा साथीहरु उत्साहित भएर तालि बजाउँथें । त्यत्तिबेला प्रचण्डको बजारमा खत्रा क्रेज थियो तर मेरो भने विप्लवप्रति । उनी सँच्चै प्रमिथसजस्तै लाग्थें । हाँसो ठट्टा गर्दै उदाहरण सहित प्रशिक्षण दिने विप्लवको क्लास नसकिए पनि हुन्थ्यो जस्तो लाग्थ्यो । म उनलाई अंकल भनेर संबोधन गर्थे । सायद उनले सम्झिए या विर्षिए किनकि लामो समय भइसकेको छ । यसविच पनि उनी जहिले चर्चामा रहे चाहे त्यो माओवादी फुट्दा होस् चाहे नफुट्दै । उनी जहिले पनि क्रान्ति गरिरहनुपर्छ शोीनत प्रक्रिया भ्रम हो भनेर खुल्लम खुल्ला भन्थें । मलाई अहिलेको लथालिंग देख्दा कहिलेकाहीँ उनको कुरा ठिकै लाग्छ । आज उनै विप्लव नयाँ जनयुद्ध अर्थात् जनयुद्ध २ आवश्यक छ भनेर संघर्षका कार्यक्रमहरु घोषणा गर्दैछन् । हामी यति चिसा मान्छे हौं कि हामीलाई जोडबल नगरीकन चेतना आउँदैन । त्यसैले पनि संघर्ष आवश्यक मात्र होइन अत्यावश्यक छ । तर मेरो कामना मात्र हो संघर्ष हिंसात्मक नहोस् ।

हुन त मेरो खासै कुनै ज्ञान छैन राजनीतिक, सामाजिक रुपमा । त्यही पनि देशका अधिकांश भागको भ्रमण गरेको, त्यहाँको समुदायसँग छलफल गरेको र त्यसमा पनि समाजको सबैभन्दा तल्लो तहमा रहेको दलित समुदायसँग काम गरेको अनुभवका आधारमा मैले पनि केही न केही हाम्रो समाजको चरित्र बुझेको छु । हो हाम्रो समाजमा अन्धविश्वास, जडता र विभेदजस्ता समस्याहरु अहिले पनि ज्यूँकात्यूा छन् । मान्छेले मान्छे भएर बाँच्न पाएका छैनन् । गाविसमा नागरिकता बनाउँन जाँदा सचिवले थर्काएर पठाउँछ । पैसा नखुवाइ केही हुँदैन । सरकारी सेवामा सधैं एउटै समुदायको बर्चश्व छ जो अरुलाई कहिल्यै सहयोग गर्न चाहँदैन ।

यी त हाम्रा बाहिर देखिएका समस्या हुन् । मुख्य समस्या हाम्रो समाज गरिब छ, अशिक्षित छ र ठग प्रवृत्ति हावी छ । यसको मुख्य कारण काम नहुनु हो । हामी गरिब छौं किनकि काम छैन, काम किन छैन किनकी हामी काम गर्न चाहँदैनौं । काम गर्न किन चाहँदैनौं किनकि कामलाई सम्मान गर्ने संस्कृति छैन । यति भएपछि हाम्रा समस्याहरु यसकै जरोमा उभिएका छन् वरिपरि घुमिरहेका छन् । अव विप्लवको क्रान्तिले सबैलाई काम, काम, काममा लाग्न प्रेरित गरोस् । कामले आर्थिक हैसियत सुधारिन्छ त्यसपछि शिक्षाको कुरा र अरु समस्याको समाधान विस्तारै हुन्छ ।
अहिले पनि हामीमा स्वयंसेवी भावना छैन । हामी निशुल्क केही काम पनि गर्न चाहन्नौ बरु दिनभर बोर्ड, तास खेलेर विताउँछौं । खालि दिमाग सैतानको घर भनेजस्तै मानछे खालिभएपछि मनका कुविचारहरु आउँछन् र मानछे अपराधकर्मतिर अग्रसर हुन्छ । कामकाजी मान्छेले त्यस्ता कुरा सोच्न भ्याउँदैन । मनोरञ्जनका लागि पनि सही माध्यमहरुको छनोट गर्न सक्छ । यसले आत्मसम्मानमा पनि बृद्धि गराउँछ ।

विप्लवको अवको क्रान्तिले जसले जे काम जानेको छ उसले कम्तिका दुई वर्ष स्वयंसेवी रुपमा काम गर्न सकोस् । उनीहरुलाई प्ररित गर्न सकून विप्लवका कार्यकर्ता हरुले । जस्तो उच्च शिक्षा अध्ययन गरेकाहरुले आफ्नै गाउँठाउँमा रहेको विद्यालयहरुमा निशुल्क दुई वर्ष पढान सकून् । स्वास्थ्य क्षेत्रमा संलग्नहरुले आफ्नै गाउँमा स्वास्थ्य क्लिनिक शिविरहरु आयोजना गर्न सकुन् । विज्ञानप्रविधि जानेकाले गाउँगाउँका युवाहरुलाई त्यसको ज्ञान बाँड्न सकून् । श्रम गर्न सक्नेहरु श्रम गरुन्, सेवा दिन सक्नेहरु सेवा दिउन् । हामीलाई चाहीएको यस्तो क्रान्ति हो कि एकपटक गाउँ छोडेर बजार भासिएकाहरु आफ्नो गाउँ बनाउने प्रेरणाले गाउँ फर्किउन् र हाम्रा गाउँलाई विकसित बनाउन योगदान गर्न सकून् । यदि विप्लवले यस्तो क्रान्ति गरेभने त्यस्तो क्रान्तिलाई सहयोग गर्न जो सुकै तयार हुन्छ । म नाथे तयार नहुने कुरै भएन । र फेरि त्यहीँ पुरानो गीत “म किन मर्थे आमा, म मर्दै मर्दिन, देशको लागि बजेको गितार, जनमुक्ति खातिर लडेको विचार, म ढल्दै ढल्दिन, आमा म मर्दै मर्दिन” गाउनुको अर्थ हुन्छ । होइन भने अब मान्छे मारेर क्रान्ति हुन्छ जस्तो म बबुरोलाई लाग्दैन ।

बोलिनौ त कतै तिम्ले विर्षियौ झैं लाग्छ

बोलिनौ त कतै तिम्ले विर्षियौ झैं लाग्छ
खोलिनौ त मनका कुरा विर्षियौ झैं लाग्छ

भित्रभित्र मनमा माया लुकाएर हिँड्यौ एक्लै
घोलिनौ त मेरो माया विर्षियौ कि लाग्छ

बुवा! मैले गलत निर्णय गरें

बुवाआमा मैले तपाइँहरुलाई जन्मेदेखि नै खुसी दिन सकिन । आमा तपाइँ नै भन्नुहुन्थ्यो नि “तँलाई छोरीको आशमा जन्माएकी हुँ” भनेर ? तर दुर्भाग्य फेरि पनि छोराको रुपमा जन्मिएँ । म बुझ्छु एउटी आमालाई छोरीको खाँचो कति हुन्छ भन्ने कुरा । सायद तपाइँले त्यो अभाव महसुस गर्नुभएको छ अहिले पनि । म सँगै हुँदा त मैले पनि एकजना छोरीको अभाव महसुस हुन दिइँन, प्रयास गरें ।

आमा तपाइँ परसर्दा निकै रगत बग्थ्यो । मलाई थाहा छ तपाइँ काम गर्न सक्नुहुन्नथ्यो । तर बाध्यता थियो बेंसीबाट धान बोक्नुपर्ने । दमारको घाँस बोक्नु पर्ने, सधैंको कामको आत्तुरी । त्यसको परिणाम तपाइँको पाठेघरको अप्रेसन गर्नुपरयो । मैले त्यत्ति सक्थें त्यो उमेरमा रगतले भिजेका कपडा धुन्थें, दैलोकुचो, घरभित्रको सबैकाम सायद छोरीले जस्तै गरेंहुँला । थाहा छ तपाइँहरु मलाई अहिलेसम्म पनि छोरी नै भन्नुहुन्छ र कान्छी भनेर बोलाउन हुन्छ । तर तपाइँले सोचेजस्तो छोरी बन्न सकिन । यसमा न त तपाइँहरुको न त मेरो नै दोष छ । मैले पनि बुझेको यत्ति हो छोरी चाहिन्छ परिवारमा ।

बुवा मलाई थाहा छ पैसाको महत्व । तपाइँले भोग्नुभएको छ त्यो अभाव र सँगसँगै मैले पनि । तपाइँ भन्नुहुन्थ्यो नि “पैसा चाहीँ कमाउनु पर्छ कान्छि बेस्सरी” भनेर । हो बुवा तपाइँ नै सही पैसा कमाउनु पर्छ । तर म सही छु या गलत आजैबाट मैले एउटा गलत निर्णय लिँदै छु । म अब पैसा कमाउने धेरै अवसरहरुलाई लत्याएर फेरी गाउँमै फर्किँदैछु । थाहा छैन मलाई मैले आवेशमा आएर यो निर्णय लिँदै छु या विवेकले ?

बुवा मैले पैसा नहुँदाको अपमान र हुँदाको देखावटी सम्मान नजिकबाट देख्ने र भोग्ने अबसर पाएको छु । हामीलाई हाम्रै दाजुभाइले हिजोका दिनमा गर्ने व्यवहार पनि त भोगेको छु । सायद हामी आर्थिक रुपमा सक्षम हुने थियौं भने मैले माइली आमाको पाइप काटिदिएको ओरोप खेप्नु पर्दैनथ्यो होला ? खाना खाने बेलामा आएर माइली आमाले थाल फलिदिँदै गालि गरेको त म बाँचुञ्जेलसम्म पनि विर्षिन्न होला । यतिसम्म कि आफ्नै हजुरआमाले पनि “तेरा बाउले कमाएर देको छ र रुप्पे माग्छस्” भन्नुहुन्नथ्यो होला । मेरो बाल मस्तिस्कमा कसरी विझेका होलान् यी घटनाहरु ? तर जे भयो कसैको दोष थिएन ।

बुवा मलाई थाहा छ सबै तराई र काठमाडौंमा घर बनाउँदा तपाइँलाई कस्तो भयो होला भन्ने ? सबैको अगाडी विचरा बन्नुपर्दा कस्तो भयो होला ? म बुझ्छु । सायद तपाइँको ठाउँमा अरु या म पनि यस्तै सोच्थे होला । हाम्रो सामाजिक संस्कारमा ८ वर्षमा ब्रतबन्ध गरिसक्नुपर्ने । मेरो १७ वर्षमा त्यो पनि फुपुकोमा गएर ब्रतबन्ध भयो । भलै मैले कुनै दिन जनै लगाइन । तर त्यो एउटा संस्कार र कर्म थियो । पुरा भयो ।

स्कुलको ५ सय फि तीनुपर्ने पिरले माइलो दाई भारतमा भाँडा माज्न जानु पनि दोष थिएन । भाग्यवस भनौं या के भनौं म औसत विद्यार्थी हुँदा हुँदै पनि सधैं राम्रो गरिरहें । स्कुल फि कहिल्यै तिर्नुपरेन । पुरस्कार पाएका कपिहरु नै प्रयाप्त हुन्थे लेख्नका लागि । तर माइलो दाईले त्यो अभाव राम्रोसँग भोग्नुभयो । फि नतिरेको निहुँमा परिक्षा भवनबाट निस्कनुपर्दा दाइको किशोर मनले के सोच्यो ? म कल्पनासम्म गर्न सक्दिन ।

बुवा तपाइँलाई थाहा छ । हामीसँग पैसा थिएन । त्यत्तिबेला मैले नै हो बुवा आमालाई आँट दिएको “यो अत्याचार सहनुभन्दा आमा म कमाएर तिर्छु जग्गा किनम्” भनेको । जग्गा किन्दाको त्यो रात म सानै भएपनि सम्झिन्छु समाजलाई मैले के भनेको थिएँ ? माइलाबुवा र माइली आमालाई मैले के भनेको थिएँ ? भलै उहाँहरुको नजरमा हामी तीन भाइ काम नलाग्ने आभारा र चोर थियौं । तपाइँहरु विश्वास गर्नुहुन्छ तपाइँका छोराहरु चोर थिए ? राम हेर्न जाँदा दिएको पैसा समेत खर्च नगरी कस्ले फिर्ता दिन्थ्यो ? मलाई चोर लगाउन द्धुकको भाँडोमा औंठी राखेर नालेमा कस्ले फलेको थियो ? त्यो औंठी मैले किन फिर्ता दिएँ ? हो कस्को नियत के थियो म त्यत्तिबेला नै बुझ्थें । केटाकेटी छ केही बुझ्दैन भनेर मेरै अघि भैंसी कुटेर कस्ले मारेको थियो त्यो पनि थाहा छ मलाई । तर, उनीहरु कहिल्यै हामीलाई चुकाउन सकेनन् । र आफूहरु सधै चुकिरहे आजसम्म पनि । सायद उनीहरु अब मेरो आँखामा सिधा हेर्न समेत सक्दैनन् अहिले । हो बुवा यो सब पछाडि हाम्रो आर्थिक अवस्था कारण थियो । पैसाकै कारण हामी माथि अत्याचार गरिएको थियो । र मैले उनीहरुलाई कुनै हालतमा माफि दिन सक्दिन न त हिँजोका कुरा भनेर नै विर्षन सक्छु ।

मलाई थाहा छ गहना नभएर आमा माइती नगएका दिन । तिजको रमझममा पनि डाँडाको मेलामा नगएका दिनहरु । तपाइँले नयाँ कपडा नभएरै कारण विरामी भएको भनेर कति पटक जन्ती जानुभएन ? हाम्रा लागि किनेका कपडाको रिन तिर्न आमाले किन आफ्नो स्वयंवरको औंठी बेच्नुभयो ? मलाई थाहा छ बुवा यो हाम्रो कुनै दोष होइन । हामी जुन कुरालाई धन भनेर चिनेका थियौं त्यो धन रहेनछ म आज बुझ्दै छु ।

त्यत्तिमात्र होइन बुवा पैसा कमाएर सुखले बुटवलमा घर बनाउने भनेर म १० वर्षको छँदै हो तपाइँ अरब गएको । तपाइँ पक्कै भुल्नुभएको छैन होला जाँदाको अघिल्लो दिन । म त सबैकुरा सम्झिन्छु भलै केटाकेटी नै थिएँ । मैले भनेको थिएँ नि वुवा “आटेपछि बाघले खान्न” भनेर ? हो म पनि अब तपाइँले सोचेभन्दा बेग्लै काम आँटेको छु । तपाइहरुको कल्पनान्दा अलि पर । के तपाइँ मलाई समर्थन गर्नुहुन्छ ?

मलाई यो पनि थाहा थाहा छ, तपाइँले अरबमा भेँडा चराएर ५ वर्ष बिताएको । त्यो समय मेरो पढ्ने बेला थियो । सिक्ने बेला थियो र तपाइँको अभिभावकत्व पाउने बेला थियो । तपाइँ आफै शिक्षक सायद धेरै कुरा सिक्नु थियो तपाइँबाट मैले । यसमा तपाइँको कुनै दोष थिएन । के तपाइँ रहरले गएको हो या बाध्यताले ? बाध्यता थियो भने के थियो ? तर मैले त्यो समयमा तपाइँलाई एकदम मिस गरें । सायद तपाइँ घरमा मात्र भइदिएको भए मैले धेरै राम्रो पढ्न सक्थें । कम्तिमा घर व्यवहारमा सानैबाट रुमल्लिनु पर्दैनथ्यो । र पनि यो वितिसक्यो ।

त्यहीँ समय हो बुवा म जुत्ता नभएर अरुले फालेका चप्पल लाएर स्कुल जान्थें । ड्रेस नलाएको नाममा कक्षाबाट निकालिन्थें । रामापुर लक्षमण बुवाले सिलाइदिएको स्कुल ड्रेसले मैले तीन वर्ष कटाएँ । तपाइँको अरब जाँदाको रिण तिर्न मैले दिनरात सुनकाउली काढ्थें । एसएलसीको ट्यूसन र कोचिंग पढ्ने समयमा म घरमै हुन्थें । बारी जोत्दै या बाख्रा चराउँदै । के यो हाम्रो दोष थियो ? न त तपाइँको दोष थियो न त मेरो । बरु सबै छोडेर पैसाको पछि दौडिन बाध्य बनाउने हाम्रो संस्कार । जागिर जागिर र त्यो पनि सरकारी जागिर भन्दा बाहिरको जागिरलाई नगन्ने हाम्रै पारिवारिक संस्कार ।

बुवा तपाइँ मेरो आदर्श हो । जसले बाहुन परिवारमा जन्मेर आफ्नो उर्वर उमेर कुमाल समुदायको शिक्षामा खर्चियो । तर निरन्तरता दिन नसक्नु त्यो तपाइँकै कमजोरी हुनसक्छ । तपाइँले अभावबिच पनि त्यो सुनसान कुमाल गाउँमा स्थापना गरेको बालकल्याण प्रावि कुनै सामान्य काम थिएन । म सम्झिन्छु तपाइँ घरमा भएका टेवल कुर्ची सबै स्कुलमा बोकेर लैजानु भयो । काठमा फ््ल्याकहरु सबै लगेर बेन्च बनाउनुभयो । छचुवाको त्यो काँडाघारी फाँडेर स्कुल बनाउनुभयो र आफै घरघर पुगेर केटाकेटी जम्मा गरेर पढाउन थाल्नुभयो । अरु सबै बजारतिर झर्दा पनि गाउँमै बस्नु पर्छ भन्ने बुवाको सोचाइँ ? आखिर बुवा त्यही विद्यालयबाट निकालिनु भयो र अरबको विकल्प रोज्ुनभयो । बुवा तपाइँले अझै केही वर्ष गाउँमै बबस्नका लागि सम्झौता गरेको भए ? तर जे थियो पैसाको भूत समाजले र आफन्तले थोपरेको । म यस्तो आदर्श बाबुको सन्तान भएर अब विदेशी भूमिका रहीरहन सक्दिन । मेरो गाउँ अझै उस्तै छ म अरुलाई सुुधार्नुको अरुको अधिकारको कुरा गर्नुको अर्थ देख्दिन । मेरो आफ्नै गाउँ परिवर्तन गर्न नसक्ने मैले अरु कुरा परिवर्तन गर्छु भन्नु मुर्खता र अल्प ज्ञानबाहेक केही होइन । त्यहीँ भएर बुवा मैले अब कत्ति ढिलो नगरी फर्किने निर्णय लिइसकें ।

पैसाको अर्थ थहा छ बुवा मलाई । जोत्नेलाई पैसा तिर्न नसक्ने भएपछि आखिर ११ वर्षको उमेरदेखि मैले हलो थामें । अभाव र दुःख अहिले स्वैर कल्पना लाग्ने जस्ता थिए । कतिले मेरो यो मनको कुरालाई हावा र बकम्फुस पनि भन्न सक्छन् । किनकि हाम्रो वास्तविकता हामीलाई मात्र थाहा थियो । आमा विरामी हुँदा किन अस्पताल जानुभएन ? दाइले किन बुटबलमा डेरीमा भाँडा माझ्ने काम गर्नुभयो ? हामीलाई सानीमाले किन चामल पठाइदिनुहुन्थ्यो मलाई सबै थाहा छ बुवा । हामीसँग पैसा थिएन । हामीसँग अभाव थियो ।

मैले कसरी प्लस टु गरें म आफैलाई थाहा छैन । सायद मुकुन्दले परिक्षा फर्म भर्नेदेखि रिजल्ट हेर्ने सम्म गरिदिँदैनथ्यो भने मैले आफू पास भएको रिजल्टसम्म थाहा पाउँदिनथें । पत्रिका बाँडेर महिनाको १५,०० कमाएर पढ्नु मेरो दोष थियो ? या काठमाडौंमा महिनौ चिया र दोनट खाएर छाक टार्नु, रत्नपार्क खुलामञ्चमा किताब बेच्नु वा पढ्न कै लागि भनेर काठमाडौं जबरजस्त आउनु मेरो दोष थियो ? आखिर पैसा त थिएन नि मसँग, न त घरबाट नै ल्याउँथे ? आखिर घरमा पनि के थियो र ? गाउँबाट पहिलो पटक सहर छिरेको तपाइँको छोराले कहाँ बसेर कसरी पढेको थियो होला ? सायद बुवा यो तपाइँहरुलाई मैले कहिल्यै बताइन र बताउन चाहन्न पनि । किनकि मलाई जसरी पनि पढ्नु थियो । पैसा मेरो लागि बाधक बनेन । तर, मैले जसरी पढ्छु भन्ने नसोचेको भए ? दाइको ५ हजार चोरेर काठमाडौ नभागेको भए ?

हो बुवा त्यसो त मैले पढाइमा पनि तपाइँहरुलाई खुसी दिन सकिन । परम्परादेखि लोकसेवा पढ्ने संस्कारमा मैले किन त्यता ध्यान दिइन ? म तपाइँले भनेजस्तो साइन्स पढ्न सकिन र छोडिदिएँ । तपाइँले सपना देख्नु ठूलो कुरै होइन सूर्य अंकल र कान्छा अंकल झैं फिजिस्क र केमेस्ट्रीको वैज्ञानिक बनाउने तपाइँको रहरको कुनै दोष थिएन । तपाइँ पनि चाहनुहुन्छ होला मेरो छोरो पनि भाइहरु जस्तै अमेरिकामै जाओस् र उनीहरुजस्तै बनोस् । भान्जा, भान्जिहरु डक्टर, अधिकृत भएर सरकारी जागिर खाँदा म गैरसरकारी संस्थामा काम गरिरहें ? सधैं काम छ भनेर घर पनि नगइकन बसें । सधैं दोडिइरहें । समाजले अछुत भनेका र जंगली भनेका समुदायसँग बढी सम्बन्ध गाँसे । साथीहरु पनि सबै त्यहीँ समुदायका नै भए । यसले तपाइँहरुलाई कति चिन्ता दिन्थ्यो भन्ने मलाई थाहा छ बुवा । त्यसमा तपाइँको न त कुनै दोष छ न त मेरो ? यत्ति कि बुवा मैले जे गरिरहेको थिएँ र गरिरहेको छु त्यसले तपाइँहरुको शिर निहुरिने होइन आत्म गौरवले फुल्नुपर्ने हो ।

हो बुवा म हुर्की सकें । पढिसकें । देशका अधिकांश जिल्लाका कुनाकुना पुगें । राम्रो संस्थाहरुमा जागिर खाएँ । तपाइँहरुको मुहारमा केही खुसी आउँदै थियो । अब छोराको विवाह गरेर सुखले तराइमा झरौंला । एउटा भव्य घर बनाउँला र आरामको जिन्दगी विताउँला भन्ने सोच्दै हुनुहुन्थ्यो होला । तर, त्यो समयमा मैले फेरि तपाइँहरुमाथि अर्को घात गरें । पहाडको सबै जग्गा बेचेर तराइ झर्न दिइँन । उल्टो अदुवा लगाउने भनेर बिउ पठाइदिएँ । पण्डितको घरमा कुखुरा पाल्नुस् भनें ।

हो बुवा मैले दुःख बाहेक केही दिन सकिन । हजुरआमा भन्नुहुन्थ्यो अब तराइ झरिएन भने त कान्छालाई छोरी दिने पनि कोही नहोलान् भनने डर छ भनेर ? हजुरआमा नदिउन् नै सही छ । तर, सबै पैसा र सम्पत्तिको पछि दौडिनेहरु मात्र पनि छैनन्, यहाँ । म त अहिलेसम्म आफ्नो जिवनमात्र पढिरहें । पढिं रहेछु । त्यो अभाव भोगेर पनि मलाई किन पैसा चाहिन्छ लागेन म ढुंगा भइसकेको छु बुवा । कुनै दिन फेरि अनुभव गरेछु भने सोचुँला ।

सानोमा कसैले भनेको सम्झिन्छु मलाई बाउजस्तै गोठालो हुने भइस् भनेर । मलाई घरिघरि पैसै कमाउनु हो जीवन जस्तो नलागेको होइन । अरुले नयाँ कपडा लाउँदा मलाई पनि लगाउन मन लाग्थ्यो । जाडोको बेला ज्वारीकोट लगाउन मन लाग्थ्यो । खुट्टा फुट्दा काला जुत्ता लगाउन मन लाग्थ्यो । मलाई पनि ढड्डा कापिमा लेख्न मन लाग्थ्यो । सधैं पुरस्कार पाएको चाररुले र डबल गुलाव कपिमा होइन । हो रहर त राम्रो स्कुलमा पढ्ने नै थियो । तर बुवा म अरुभन्दा कमसल स्कुलमा पढेर पनि किन अरुभन्दा पछि भइन त ? के स्कुललेमात्र हुँदो रहेछ ? भलै अरुलेजस्तो मेरो प्रतिशत आएन होला । तर के जिवनको पढाइमा म फेल भएँ ? साँच्चै भनुँ भने अहिलेसम्म पढेका कुरा मेरो जिवनमा कहिल्यै लागू भएनन् । के पढें भन्ने हो म पास भएको प्रमाणमात्र छन् पढेको प्रमाण छैन ।

आमा म बुझ्छु । तपाइँको सपना छोराले सहरमा घर बनाओस् । एउट कुल घरानकी बुहारी ल्याओस् र हामीलाई पनि बजारमै लैजाओस् । हो आमा म त्यहीँ बाटोमा आइपुगें भाग्य, मेहनत वा के भन्नुहुन्छ ? तर मैले अहिले यी सब क्षणिक देख्दैछु । के तपाइँले बुवालाई पैसाले माया गरेको हो ? हामीलाई पैसाले माया गरेको हो ? पक्कै होइन । के मैले पैसा कमाएर सहरमा घर बनाएर तपाइँ खुसी हुनुहुन्छ ? तपाइँहरुको अन्तिम खुसी के हो ? आखिर तपाइँहरुलाई आवश्यक हुँदा म तपाइँहरुसँगै भइन भने जंगलको काँडा र तपाइँको छोरोमा के फरक पाउनुहुन्छ ? के गाउँका सबै सहरमै गएर सकिने हुन् ? आमा मैले तपाइँको रहरमाथि धोखा दिएँ ।

हो बुवा तपाइँ मात्र होइन । मान्छे विदेश जान त्यो पनि राम्रो देशमा जान, राम्रो जागिर खान पाए को फर्किन्छ होला ? बरु सित्तैमा भिसा पाइने भए कोही पनि देशमा बस्न चाहँदैनन् । विभिन्न बहानामा कोही शिक्षाको बहाना होस् । कोही जारिको बहाना होस् । कोही बाध्यताको बाहाना । जे बहाना बनाएपनि सबैको उद्देश्य जसरी पैसा कमाउने नै हो । हो बुवा मलाई कुनै विदेशी विश्वविद्यालयको डिग्री चाहिँदै, मैले भोगेको जिवन कुनै सामान्य डिग्री हो ?

हो छन् मान्छेहरु जो आफ्नै बहिनीसँग फेक विवाह प्रमाणपत्र बनाए पिआर निवेदन गर्छन् । आइडीकै लोभमा प्रेमको नाटक गरेर विवाह गर्छन् । डिभीको लाइनमा पेलापेल हुन्छ । हुन त यो सबैका लागि मेरो आदर्श भन्ने मात्र होला । तर मैले अब बुझिसकेँ बुवा । म कुनै आफ्नो जिवित अस्तित्वसँग मृत र लोभको अस्तित्व साट्न चाहन्न ।

त्यसो त कतिले भन्लान् अहिले मसँग न त म सँग कुनै पीएचडी नै छ । देश फर्किएर के नाप्छस् ? केही सिकेर जा न त बरु भन्लान् । त्यो उनीहरुको दृष्टिकोणमा सही हो । तर म यहाँ केही सिक्न सक्दिन । मैले बुझें मेरो क्षमता आफ्नै देशमा सिक्ने छ र सिकेको कुरा आफ्नै ठाउँमा प्रयोग गर्ने । विद्यावारिधीमात्र सिकाइको कुनै प्रमाण होइन । मसँग त सानो ज्ञान छ थोरै ज्ञान छ । अरुहरु ठूलो ज्ञान लिएर मात्र फर्किन्छन् त्यो पनि सहरमा घर बनाउने पैसा कमाएर तर मैले यी सबलाई तिलाञ्जली दिएर आउँदैछु । तपाइँ दुखि हुनु हुनुहुनेछ । कम्तिमा केही वर्ष वसिदिएको भए ? हो सोच्ने यस्तै तर केही वर्ष भरिमा म आफ्ना सबै सम्बन्ध गुमाइसकेको हुनेछु । केही अझ भन्दै भन्दै आफ्नो उर्वर समय अरुका लागि सुम्पेर म कुन मुखले फर्कु ? त्यत्तिबेला साथीहरुले समेत अवसरवादी भनिसकेका हुे्छन् । र धन कमाउने आसमा हिँडेको लोभि मात्र हुनेछु । आखिरमा देशभित्र पनि विरानो बाहिर पनि विरानो हुनेछु । मसँग जत्ति ज्ञान छ त्यत्तिनै आफ्नै गाउँमा लगाउँछु । तर बुवा म तपाइँहरुको सपनालाई तुहाउँदै साँच्चै देशमै फर्किने कठोर निर्णय लिएको छु । त्यो पनि सकेसम्म छिट्टै ।

म सँग थोरै सपना छन् अब । तर ति सपना पुरा गर्ने योजना छन् । क्षमता पनि छ । मैले आफूले जानेको योेजना पूरा गर्न सक्छु । यसले मेरोमात्र होइन अरु धेरै गाउँलेको पैसाको लोभमा सबै त्याग्ने प्रवितृतिलाई हटाइदिनेछ । मेरो यो योजना आफ्नै गाउँका १७ घर बाट सुरु गर्छु । प्रत्यक घरलाई १ क्विन्टलका दरले अदुवा दिन्छु । बस्तु विनिमय सुरुगर्छु क्यास नहुनेहरुका लागि । सुरुवात फाउण्डेसन खोल्छु । विदेशी विद्यालयमा पढेका मेरा केही नेपाली र विदेशी साथीहरुलाई अध्ययनको लागि मेरो गाउँमै निम्त्याउँछु । गाउँको सांस्कृतिक सम्पदाहरुको संरक्षणका लागि युवाहरुलाई एकीकृत गर्छु । गोखुंगामा रहेको पञ्चेवाजा परम्परालाई हरेक साँझमा धुनी जगाउनका लागि सहयोग गर्नेछु । गाउँमा भुवनपोखरी संग्राहलय स्थापना गर्नेछु ।सामुहीक बाख्रा पालन सुरु गर्छु । र आफैले पढेका विद्यालयमा कम्पुटर पढाउँछु । एउटा वेवसाइट बनाउँछु । बजार खोज्छु, भारत नजिकै छ । बजारको समस्या छैन । आउँदेखि पणेनासम्मको खान्टुंग पणेना नेचट ट्रेल सुरु गर्छु । यससँगै धेरै योजना छन् । ती योजनाहरुलाई दस्तावेजीकरण गरिसकेको छु । म आफ्नै गाउँलाई १० वर्षभित्र नमुना बनाउँछु । मसँग योजना छ, आँट छ र सबैभन्दा ठूलो काम गर्ने महत्वकांक्षा छ । हो बुवा म फर्किन्छु तपाइँहरुको सपनालाई फेरि लत्याएर । म यहाँ रमाउन सकिँन र सक्दिन कहिल्यैं ।

कल्पना नै होस् : शिव

कल्पना नै होस्,love-and-imagination
घुमाएर एक फन्को
घडीको सुइसँगै
मेरा केही वर्ष
फिर्ता पाउँथे भने !
झरि परेको त्यो रात
तिमीसँगै एउटै सेउ ओढेर
झमझम पानीमा रुझ्दै
फर्किन्थें बेंसी रोपाइँबाट ।

कल्पना नै होस्,
खरबारीमा घाँस काट्दा
तोरी गोड्दा भीर बारीमा
वन जाँदा गाई चराउन
मध्य-रातमा पानी कुर्दा
धारापानीको पँधेरीमा
अर्म-पर्म सँगैसँगै तिमी र म
र, हात समाएर विस्तारै
उठाइ दिन्थे तिम्रो डोको ।

कल्पना नै होस्,
सँगै झर्थें, सपनाको सहर
सर्थेंं डेरा, एउटै घरमा
साट्थें, दालसँग तरकारी
नोट कपिको बिच-बिचमा
तिम्रै नाममा मनका-कुरा
खल्तीमा एकजोर फिलिम टिकट
डेरी मिल्क र घरेलु तितौरा
पर्सको कुनामा रिवन सिउरिएको
तिम्रो B&W तस्वीर
शुक्रबारको अन्तिम क्लास
कुर्थें तिम्रै कलेजको गेट ।

कल्पना नै होस्,
तिम्रा कोमल औंलाहरु
गाउँ छोड्दाका ठेलाहरु
धुर्मैला हत्केलाका रेखाहरु
सुमसुम्याउँदै प्रेमले
छात्तिमा जोडले च्याँपेर
आँखा नचिम्लि, रोकेर श्वास
कल्पिन्थ्यौं हाम्रै भाग्य रेखा
आकाशमा छुट्टीएका बादल
उडीरहेका एकजोर गौथली
पर भुकीरहेको कुकुरको आवाज
केही झ्याउँकीरीहरुको गीत
जुनेली रातको पूर्ण चन्द्रसँगै
हिँडिरहन्थ्यौं जिन्दगीका उकालीहरु ।

तर आज……………………
पूर्वबाट पश्चिममै झर्छ सूर्य
उस्तै देखिन्छन् बादलका टुक्रा
जानेर/नजानेरै, ढाँटेर/नढाँटेरै
मनभित्र मुस्काउने को हो ?
नजरभित्र शर्माउने को हो ?
तिमी मलाई हेर्न सक्छयौ उस्तै
नभेटेरै भेट्छु, तिम्रो न्यानोपन
मनभित्र चलेको एकोहोरो हुरी
म बुझ्न सक्छु उस्तै तिमीलाई
र, पनि घडीले घुमाएर घुम्दैन समय ।